ब्युँताइँदै ऐतिहासिक ढुंगेधारा

काठमाडौँ — स्वयम्भूको डल्लुस्थित ऐतिहासिक ढुंगेधारा निर्माण कार्य सुरु भएको छ । वर्षौं पहिले स्थानीयले नै पुरेको ढुंगेधारा पुनः निर्माण भएको हो ।चैतमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, नवजागृति क्लब र स्थानीयको पहलमा ऐतिहासिक ढुंगेधारा तथा डल्लु चौतारा उपभोक्ता समिति गठन गरेको थियो । वर्षौं पहिले निर्माण भएकोढुंगेधाराबारे यकिन तथ्य भने छैन । तर विसं २०३४ सालमा स्थानीयकै पहलमा ढुंगेधारा मासेर एकतले घरमा पुस्तकालय सुरु गरेको समितिका संयोजक अमरबहादुर रञ्जितले बताए । त्यसबेला धारामा थोरै भए पनि पानी बग्ने गरेको उनको अनुमान छ  ।

‘पहिले प्राकृतिक रूपमा धारामा पानी आउँथ्यो, त्यसबेला पुस्तकालयको समस्या थियो,’ उनले भने, ‘त्यसैले स्थानीयकै सहयोगमा धारा मासेर पुस्तकालय निर्माण गरेको थियो ।’ पुस्तकालय पनि लामो समयसम्म चल्न सकेन । पुस्तकालय बन्द गरी २०३९ सालमा नवजागृति क्लबले जिम सुरु गरेको थियो । त्यो पनि निरन्तर चल्न सकेन । जिम बन्द भएपछि एकतले घर प्रयोगविहीन भएको थियो । प्रयोगविहीन घरलाई भत्काई वैशाखमा क्षमापूजा गरेर ढुंगेधारा निर्माणको काम सुरु गरेको उनले बताए । ढुंगेधारा निर्माण अन्तिम चरणमा पुगेको छ ।अब गेटमा परम्परागत इँटाको छाना र धारावरपर ढुंगा छाप्ने काम मात्र बाँकी छ । परम्परागत इँटा दासीआप्पा नपाएको कारण काम रोकिएको उपभोक्ता समितिको संयोजक रञ्जित बताए । हाल ऐतिहासिक मन्दिर तथा ढुंगेधारा निर्माण गर्न चाहिने सामान तथा इँटा भेटाउनै मुस्किल छ ।

समिति गठन गरेपछि वैशाखमा उक्त ठाउँमा क्षमापूजा गरी ढुंगेधारा पुनः निर्माणको काम सुरु गरेको उनले बताए । पहिले राजकुलो हुँदै ससाना कुवा तथा ढुंगेधारा बग्ने गर्थेर् । अहिले चारैतिर घर बनेको हुनाले राजकुलो पनि मासिँदै गएको छ । ढुंगेधारा तथा कुवामा आउने पानीको मुहान अर्थात् प्राकृतिक स्रोत नै सुकिसकेको छ । त्यसैले अब निर्माण हुने ढुंगेधारामा प्राकृतिक रूपमा धारा नबगे पनि मानव निर्मित अर्थात् नुमनाका लागि भए पनि ढुंगेधारामा पानी झार्ने योजना रहेको उनले बताए ।जमिनमुनि पानी जमाउनका लागि इनार निर्माण गरिएको छ । इनारको पानी ढुंगेधारा हुँदै बग्ने उनले बताए । लोप हुँदै गएको सांस्कृतिकसम्पदालाई जोगाउन ढुंगेधाराको पुनः निर्माण गरिएको प्रतिनिधिसभाका सांसद श्रेष्ठले बताए ।

काठमाडौं महानगरले करिब दुई किलोमिटर दूरीमा रहेको दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदमार्गले जोड्ने तयारी गरिरहेको छ । त्यसैले डल्लु चौतारामा रहेको ऐतिहासिक सांस्कृतिक सम्पदा पनि ब्युँताउँदै ढुंगेधारा तथा अन्य सम्पदा पुनः निर्माण सुरु गरिएको उनले बताए ।सम्पदा मार्ग भएकाले त्यस ठाउँमा ऐतिहासिक महत्त्व बोकेका सम्पदाको पुनः निर्माण गरिने छ । सांसद कोषअन्तर्गत पहिलो चरणमा ऐतिहासिक ढुंगेधारा तथा डल्लु चौतारा पुनः निर्माणका लागि १५ लाख बजेट छुट्याइएको थियो । उक्त रकमले धारा र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

Source: Kantipur Daily भाद्र ८, २०७६ ०७:२३

https://ekantipur.com/national/2019/08/25/156669709550432756.html?fbclid=IwAR39yHLaSzVNshePoji8CuJM2kyUNdvH48mZqQqV787P4Bla46X_yDSMPYU

Go to top