काठमाडौं, भदौ ७ : मेलम्चीको अन्त्यहीन प्रतीक्षामा बर्षौंदेखि काकाकुल काठमाडौंका अधिकांश बासिन्दा ट्याङ्कर र जारको पानी किनेर जीविका चलाइरहेका छन्।
उनीहरूका घरमा धारा छन्, तर धारबाट पानी आउँदैन, हावामात्रै आउँछ। कतिको धाराबाट पानी आउँछ, तर साताको एक वा दुई दिनमात्रै। आज नभए पनि भोलि त मेलम्ची आउँला नि भन्दै उनीहरूले पानी नबगेर खिया पर्न थालिसकेको धाराका पाइपहरू जोखाइराखेका छन्। तर, काठमाडौंको डल्लु निवासी हिराकाजी महर्जनले भने आफ्नो घरको पानी नआउने धारा नै उखेलेर फँयालेका छन्। धाराको लाइन काटेकोमा हिराकाजीलाई रत्तिभर पश्चाताप छैन। किनकि, उनले आवेशमा आएर होइन, विवेक पुर्याएर आफ्नो घरको धारा काटेका हुन्।
२०७० साल पुस महिनामा धारा काटेका हिराकाजी न ट्याङ्करको पानी किन्छन्, न जारको। तैपनि, उनको ६ जनाको परिवारलाई पिउन, खाना पकाउन, नुहाउन, लुगा धुन वा घरको सरसफाई गर्न पानीको कुनै दुःख छैन। किनकि, हिराकाजीले आफ्नो घरमा आकाशे पानी सङ्कलन गर्ने प्रविधि जडान गरेका छन्। ६ वर्षअघि यो प्रविधि जडान गर्न उनले २ लाख रुपैयाँ खर्च गरेका थिए। उनी भन्छन्, ‘मजस्तो सामान्य किसानका लागि दुई लाख सानो रकम होइन। तर, यसको प्रतिफल हेर्दा लगानी खेर गएको महशुस हुँदैन।’
उनी थप्छन्, ‘यो प्रविधि जडान गर्नुअघि मैले हरेक महिना कम्तिमा २ ट्याङ्कर पानी किन्नु पथ्र्यो। प्रति ट्याङ्कर दुई हजार रुपैयाँ तिर्दा एक वर्षमै ४८ हजार खर्च हुन्थ्यो।’ घरको धारा काटेर दुई लाख रुपैयाँ पर्ने आकाशे पानी सङ्कलन प्रविधि जडान गर्दा हिराकाजीलाई छिमेकीहरूले ‘बौलाएको’ ठानेका थिए। तर, अहिले अरुले पनि हिराकाजीकै सिको गर्न थालेका छन्। अहिले डल्लु क्षेत्रमा करिब एक सय ५० भन्दा बढी घरमा आकाशे पानी सङ्कलन प्रविधि जडान भइसकेको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले काठमाडौंप्रेसलाई बताए।
दलदलबाट निस्केको डल्लु !
करिब तीन सय ६५ रोपनी जग्गामा फैलिएको डल्लु आवास क्षेत्रमा जम्मा आठ सय ३७ घर छन्। त्यसैमध्ये एक घर हिराकाजी महर्जनको हो। उनले आकाशे पानी सङ्कलन प्रविधि सुरु गर्नुअघि सबै जना इनार, ट्याङ्कर र जारकै पानीको भरमा थिए।
कसैको घरमा पनि धाराबाट पर्याप्त पानी आउँदैन थियो। धारा जति सुक्थ्यो, डल्लुबासीहरू त्यति नै धेरै र गहिरो इनारहरू खन्थे। जमिनमुनिको पानी चाहिँ इनारबाट वा पम्पले तानेर उपभोग गरिन्थ्यो, तर खुला माटोयुक्त क्षेत्रको अभावमा आकाशे पानी सोसिएर जमिनमुनि जान पाउँदैन थियो। परिणामस्वरुप, डल्लु क्षेत्रका इनार, ढुङ्गेधारा र कुवाहरू बिस्तारै सुक्दै जान थाले। डल्लु दलदलमा भासिन थाल्यो। तर हिलोको होइन, सुक्खापनको दलदल। माटो पनि सुक्न थाल्यो। ४५ वटासम्म रिङ छिर्ने गरी गहिरो इनार खन्दा समेत पानी भेट्न मुश्किल पर्न थाल्यो। जमिनमुनिको पानीको अत्यधिक दोहन भएपछि माटो दब्न थाल्छ। घरहरू भासिन थाल्छन्। मेक्सिको सिटी लगायत कतिपय सहरहरूमा यस्तो समस्या प्रकट भइसकेको छ। डल्लु पनि यसरी दलदलमा भासिने भय पैदा भयो।
यसैले, डल्लु आवासीय समितिले त्यस क्षेत्रमा बन्ने नयाँ घरमा आकाशे पानी सङ्कलन प्रविधि जडान गरेको हुनैपर्ने प्रावधान ल्यायो। जमिनमुनिको पानी पुनर्भरण भइरहोस् भनेर कङ्क्रिटले नपुरिएको माटोयुक्त खुला क्षेत्र छाड्नै पर्ने नियम पनि सुरु गर्यो। समितिले समुदाय स्तरमा समेत इनार खनेर जमिनमुनिको पानी पुनर्भरण गर्ने प्रयास थाल्यो।
समितिले २०७० सालमा आकाशे पानी सङ्कलन र जमिनमुनिको पानी पुनर्भरणलाई अभियानकै रुपमा सुरु गर्ने निधो गरेको हो। त्यसै क्रममा हिराकाजी महर्जन घरको धारा काटेर यो अभियानमा सरिक भएका हुन्। यो अभियान सुरु भएको ५ वर्षमै सकारात्मक र उत्साहजनक प्रगति देखा परेको डल्लु आवासीय समितिका पूर्वअध्यक्ष प्रकाश कुमार श्रेष्ठ बताउँछन्। भन्छन्, ‘त्यस बेला ४५ वटा रिङ गाड्दा पनि पानी देख्न मुश्किल थियो। अहिले २५ वटा रिङ राख्नेबित्तिकै पानी आउन थाल्छ।’ डल्लुमा व्यक्तिगत घरहरूले मात्र होइनन्, विभिन्न संस्थाहरूले पनि यो प्रविधि जडान गरेका छन्। डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्, स्वर्णिम स्कुल, गीतामाता स्कुल, मोर्डन नेपाल एकेडेमी र एल्भिराज चिल्ड्रेन होम लगायतका संस्थामा पनि आकाशे पानी सङ्कलन भइराखेको छ।
स्वर्णिम स्कुलकासञ्चालकमध्येका एक भगवान श्रेष्ठ भन्छन्, ‘हामीसँग करिब ९ सय विद्यार्थी छन्। वर्षायाममा ती सबैलाई चाहिने पानी आकाशबाटै पाउँछौ। सुक्खा याममा पनि ५ देखि ६ ट्याङ्करभन्दा बढी पानी किन्दैनौँ।’ उनी थप्छन्, ‘आकाशे पानी सङ्कलन प्रविधि जडान नगरेको भए दिनको एक ट्याङ्कर पानी अनिवार्य रुपमा किन्नु पथ्र्यो।’ धेरै मानिसमा वर्षाको पानी सङ्कलनका लागि ट्याङ्की बनाउँदा घरमा क्षति पुग्न सक्छ भन्ने बुझाई छ। तर, आकाशे पानी सङ्कलन प्रविधिको व्यवसायमा संलग्न निभा रेनका प्राविधिक नरेन्द्रमान डंगोल भन्छन्, ‘त्यो बुझाई भ्रममात्रै हो। ट्याङ्की बनाएर घरलाई कुनै असर पर्दैन।’
निष्प्रभावी नीति
काठमाडौं उपत्यकामा खानेपानीको माग सुख्खायाममा दैनिक करिब ३६ करोड लिटरभन्दा बढी पुग्छ। तर, सरकारको स्वामित्वमा रहेको खानेपानी आपूर्ति निकायले केबल १० करोड लिटरमात्रै पानी आपूर्ति गर्छ। यस्तो अवस्थामा वर्षाको पानी सङ्कलन दीगो विकल्प हुन सक्छ।
तर, पानीजहाज कुदाउने सपना बाँड्ने सरकारले आकाशे पानी सङ्कलन विधिलाई प्रोत्साहित गर्ने प्रभावकारी योजना र नीति भने बनाएको छैन। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सन् २०११ यता जमिनमुनिको पानी पुनर्भरण गर्ने अभियान चलाएको छ। तर, त्यो खासै उपलब्धिमूलक हुन सकेको छैन। काठमाडौ महानगरपालिकाले पनि हालै रिचार्ज काठमाडौं भनेर नयाँ कार्यक्रम ल्याएको छ। यो कतिको प्रभावकारी हुन्छ भन्ने हेर्न चाहिँ बाँकी नै छ। हुन त नेपाल सरकारले काठमाडौं र पोखरामा नयाँ बनाउने घरको नक्शामा आकाशे पानी सङ्कलन प्रविधि राखेमा नक्शा पासमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ। तर यो त्यति व्यवहारिक नभएको पानी अभियन्ता प्रकाश अमात्य बताउँछन्।
अमात्यका अनुसार नक्शापासमा एकपटकको छुटले घरधनीलाई खासै आकर्षित गर्न सक्दैन। र, अनुगमनको अभावमा यो प्रावधान नक्शामा मात्र सीमित भएको उनको गुनासो छ। उनी भन्छन्, ‘यो प्रविधिलाई साँच्चै प्रवद्र्धन गर्ने हो भने जसले घरमा आकाशे पानी सङ्कलन प्रविधि जडान गरेको छ, उसलाई हरेक महिना विजुली अथवा खानेपानीे बिलमा छुट दिन सकिन्छ। अथवा, हरेक वर्ष घर करमा छुट दिन सकिन्छ।’ धुलिखेल नगरपालिकाले आकाशेपानी संकलन प्रविधि जडान गर्नेलाई हरेक वर्ष तिरिने घरजग्गा करमा १५ प्रतिशत छुटको ब्यवस्था गरेर यसको सुरुवात गरिसकेको उनी बताउँछन्।
Source: Kathmandupress बुधबार, भदौ ११, २०७६