पानी, बत्ती, महिला सुरक्षा, अपाङ्गताको पहुँच र कमजोर पूर्वाधार सार्वजनिक शौचालयका मुख्य समस्या — अध्ययन
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रबिधियुक्त सुबिधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माणलाई तीब्रता दिन आग्रह गर्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले — अभाव महसुस नहुने गरी सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गर्नुभयो ।
सातौं बिश्व शौचालय दिवसका अवसरमा मंगलबा काठमाडौंमा आयोजना गरिएको प्रभातफेरीको समापन अवसरमा बोल्दै उहाँले भन्नुभयो — शौचालयको समस्या समाधान भयो भने सहरमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने बताउनुभयो । संघीय संसदको कुरा सुनिसकेपछि महानगरका प्रबक्ता ईश्वरमान डंगोलले — भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई बराबरी महत्व दिएर महानगरले काम गरिरहेको बताउनुभयो । यसरी सुधार गरिने र नयाँ बनाइने शौचालयलाई आवश्यकता आधारमा स्मार्ट, सहुलियत र व्यवस्थित गरिने उहाँको भनाइ थियो । सार्वजनिक शौचालय सबैले प्रयोग गर्न सक्ने खालको हुनुपर्छ । यसमा हामी सचेत छौं, प्रबक्ता डंगोलको भनाइ थियो ।
महानगरको सहरी योजना आयोगले, सहरमा निर्माण गरिने सार्वजनिक शौचालयको ढाँचा तयार पारेको छ । कार्यक्रममा बोल्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भन्नुभयो — हामीले बिभिन्न २० प्रकारका ढाँचामा सार्वजनिक शौचालयको डिजाइन गरेका छौं । स्थान, लगानी र आवश्यकताका आधारमा यीमध्ये जनसुकै प्रकारका शौचालय पनि निर्माण गर्न सकिन्छ । उपाध्यक्ष बस्नेतले थप्दै भन्नुभयो — यसरी बनाइएका ढाँचामा एक पटकमा १ जनाका लागि मात्र उपयुक्त हुनेदेखि एकैपटक ३ जनासम्मले प्रयोग गर्न सक्ने खालका, शौच कार्यका साथै नुहाउन मिल्ने खालका पनि छन् । यिनीहरु सबैको पहुँचयुक्त हुन्छन् । उहाँका अनुसार यसरी बनाइएका डिजाइन कम्तीमा १५ लाख रुपैयाँ र बढीमा १ करोड रुपैयाँ लागतका छन् । राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाका अनुसार अहिले पनि नेपालमा सरसफाइको अभावमा ५ बर्ष मुनिका औसतमा दैनिक ४ जना अर्थात् बार्षिक करीब १४ सय बालबालिकाको मृत्यु भइरहेको छ । सन् २००० मा बार्षिक १० हजार ८ सय रहेको यस प्रकारको मृत्युदर सन् २००८ मा ७ हजारमा झरेको थियो । यसप्रकारको समस्या सहरी क्षेत्रमा नभए पनि सहरी क्षेत्रमा पूर्ण सरसफाइका लागि काम गर्नुपर्ने आवश्यकता देखिन्छ । सहरमा आवश्यकता र समावेशी र पहुँचयुक्त शौचालय निर्माणको हो, जहाँ सबैले मेरो शौचालय हो भनेर महसुस गर्न सकुन्, कार्यक्रममा बोल्ने क्रममा वाटर एडका राष्ट्रिय निर्देशक तृप्ति राईले — महिलामैत्री र सुरक्षित शौचालय बनाउनु पर्नेमा जोडदिनुभयो ।
सहरमा सार्वजनिक शौचालय निर्माण गर्ने कुरासँगै यसको दिगो उपयोग गर्ने कुरा, शौचालयबाट निष्कासन भएको फोहोर व्यवस्थापनको कुरा एकैपटक गर्नुपर्छ, कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं दिवसका अगुवा गणेश शाहले — पूर्वाधार निर्माण र सचेतनामुलक कार्यक्रम सँगसँगै लैजानुपर्ने आवश्यकता देखाउनुभयो । यो पूर्ण सरसफाइ र दिगो बिकाससँग सम्बन्धित काम हो । यसलाई महत्वदिनुपर्छ, पूर्वमन्त्री शाहको भनाइ थियो ।
बिहान ७ बजे भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै बसन्तपुर पुगेर समापन भएको थियो । कामठाडौं महानगरपालिका र वाटर एड नेपालको सहयोगमा खानेपानी र सरसफाइका लागि गैरसरकारी संस्था गुथिले आयोजना गरेको प्रभातफेरीमा खानेपानी तथा ढल निकास बिभाग, जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो), फोहोरमैला व्यवस्थापन संघ, एरोसान, पश्चिम पाइला, नेपाल साइकल सोसाइटी, त्रि—चन्द्र क्याम्पस, युवा रेडक्रस सर्कल, वातावरण इन्जिनियर समाज (सोफेन), नेपाल वाटर कन्जरभेसन फाउन्डेसन, काठमाडौं बिश्वबिद्यालय, अर्टिजम केयर नेपाललगायत सरसफाइका क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाको सहभागिता थियो । हरेक बर्षको नोभेम्बर १९ तारिखका दिन मनाइने दिवसको यस बर्षको नारा ‘शौचालयको प्रयोगबाट कोही पनि बञ्चित नहोस्’ रहेको छ । यो नाराको मर्मलाई आत्मसात् गर्दै प्रभातफेरीमा सहभागी हुनेले — ‘महामारी मुक्त नेपाल’, ‘शौचालयबाट निस्केको फोहोर कहाँ जान्छ?’, ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’, ‘के तपाई शौचालय नभएको कल्पना गर्न सक्नुहुन्छ?, २.५ अर्व मानिसको घरमा शौचालय छैन ।’, ‘सबैका लािग शौचालय’, ‘पहुँचयुक्त शौचालय’, ‘महिलामैत्री शौचालय’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । समारोहमा शौचालय सरसफाइमा काम गर्ने जनशक्तिहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
गएको बर्ष गुथिले काठमाडौं उपत्यकाका ११५ वटा सार्वजनिक शौचालयमा गरेको अध्ययनले सार्वजनिक शौचालयमा सरसफाइको अभाव, साबुन र पानी नहुनु, महिलाको मासिक तालिकाका लागि आवश्यक पर्ने स्यानिटरी प्याड प्राप्त नहुनु, पर्याप्त प्रकाको व्यवस्था नहुनु, महिला र अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग अनुकुल नहुनु जस्ता समस्या देखाएको छ । अध्ययनमा काठमाडौं महानगरका ७० वटा, ललितपुर महानगरका २० वटा, कीर्तिपुर नगरका १४ वटा र मध्यपुर ठिमीका ११ वटा शौचालय हेरिएको थियो ।
Source: काठमाडौं अनलाईन, २०७६-०८-०३