सेनेटरी प्याड बनाउन सिक्दै

काठमाडौँ — त्रिचन्द्र कलेजस्थित युवा रेडक्रस सर्कलको भवनमा मुस्कान तेयुङ शनिबार सेनेटरी प्याड बनाउन सिक्दै थिए । स्‍नातक दोस्रो वर्षमा अध्ययनरत उनले स्कुलमा स्वास्थ्य किताबमा पढे पनि व्यवहारमा लागू नभएको बताए । 

‘महिनावारी भएको बेला अब आफ्ना आमा तथा दिदिबहिनीलाई सहयोग गर्न सक्छौं,’ उनले भने, ‘महिनावारीको विषयमा कोही पनि बोल्न चाहँदैनन्, त्यसैले यस्तो कक्षा लिएर सिकेपछि व्यवहारमा लागू गर्न सक्छौं ।’ समाजमा महिनावरी हुँदा महिलालाई मात्र भन्ने प्रचलन रहेको उनले सुनाए । आफ्ना घरका पुरुषलाई पनि बताउन नहुने मान्यता रहेको उनले बताए । ‘महिनावारी हुँदा गर्न तथा खान हुने/नहुने लगायत सामान्य ज्ञान पनि हामीमा थिएन,’ उनले भने, ‘यी सबै आज थाहा पायौं, अब बजारमा पाइने प्याड नहुँदा आफैं बनाएर दिन सक्छौं ।’ 

त्यस्तै माइक्रोबायोलोजी चौथो वर्षमा अध्ययनरत हेमन्त पन्त पनि प्याड बनाउन सिकिरहेका थिए । आफ्नै घरमा पाइने सामग्रीबाट प्याडबाट बनाउन सकिने उनले बताए । फार्मेसीमा पाइने भन्दा पनि आफैंले बनाएको प्याड लाभदायक हुने अनुभव उनले गरे । ‘फार्मेसीमा पाइने केमिकलयुक्त हुन्छ,’ उनले भने, ‘आफैंले बनाएको पुनः प्रयोग गर्न मिल्छ ।’ प्याड बनाउनअघि महिनावारी हुँदा के हुन्छ, कस्तो खानेकुरा खानु हुँदैन लगायत कुराको जानकारी पाएको उनले बताए । त्रिचन्द्रकै अर्का विद्यार्थी रक्षा पौडेलले पनि बजारमा पाइने प्याड समयमा नफेर्दा एलर्जी हुने हुँदा घरेलु निकै लाभदायक रहने बताइन् । ‘उपत्यकामा हरेक ठाउँमा प्याड किन्न पाइन्छ, त्यस्तो कुनै समस्या हुँदैन,’ उनले भनिन्, ‘गाउँघरतिर यस्तो पाइँदैन, त्यसैले आफैंले बनाएर प्रयोग गर्न सकिन्छ ।’ अरूलाई पनि सेनेटरी प्याड बनाउन सिकाउन सकिने उनले बताइन् । सोही कलेजका विद्यार्थी पूजा रम्तेल सहभागीहरूलाई प्याड बनाउन सिकाइरहेकी थिइन् ।

प्याड बनाउन सिकाउँदै रम्तेलले एउटा प्याड बनाउन ३० मिनेटभन्दा बढी समय नलाग्ने बताइन् । घरमै प्याड बनाउँदा नरम सुती वा फलाटिनको कपडा प्रयोग गरेर बनाउन सकिने उनले बताइन् । ‘प्याड सामान्यतया २१ इन्च लम्बाइ र १४ इन्च चौडा हुन्छ,’ उनले भनिन्, ‘सियो–धागोले सिएर कपडालाई प्याडको आकारमा बनाइन्छ ।’ उक्त कपडालाई लम्बाइ फोल्ड हुने गरी दायाँ पर्ने गरी बराबर साइजमा दोबारिन्छ ।
दोबारेको भागको तल्लो भागलाई माथिल्लो भागसँग मिलाउँदा चार वटा फोल्ड हुन्छ । पत्रहरू भएको पट्टिबाट काट्नका लागि फोल्ड कपडाको लम्बाइको आधा र चौडाइको आधाको केन्द्रमा जाने गरी माथिबाट केन्द्र हुँदै दायाँपट्टि जाने गरी थोरै काटिन्छ । काटिएका दुई वटा कपडाको बीचमा २१ सेमि लम्बाइ र ६ सेमि चौडाइ भएको गज राखेर एक छेउ छोडी बाँकी किनारा सिलाइसकेपछि नसिलाएको भागबाट सिरकको खोल जस्तै उल्टो फर्काउनुपर्छ ।

भित्री वस्त्र अर्थात पेन्टी अड्काउने गरी प्याडको साइड (कान जस्तो) मा बनेको भागको टुप्पोमा बटन (टिपटाँक) लगाएपछि प्याड तयार हुने उनले बताइन् । ‘एक मिटर कपडाबाट चारदेखि छ वटा प्याड बनाउन सकिन्छ,’ उनले भनिन्, ‘कपडाबाटै प्याड बनाउन सुरु गरेदेखि नै यो तरिका अपनाएकाले प्रचलित छ, सबैले यस विधिबाटै प्याड बनाउन सिकाइन्छ ।’ युवा रेडक्रस सर्कल त्रिचन्द्रमार्फत नै दुई वर्षअघि प्याड बनाउन सिकेको र अहिले आफैंले सिकाउने गरेको उनले बताइन् । 

गुथी संस्था र त्रि–चन्द्र युवा रेडक्रस समूहले आयोजना गरेको महिनावारी स्वच्छता तथा वैकल्पिक सेनेटरी प्याड निर्माण तालिममा २७ जना विद्यार्थी सहभागी थिए । सहभागीमा चार जना पुरुष र २४ जना महिला थिए । महिनावारीका बेला रगत व्यवस्थापन गर्न सेनेटरी प्याड प्रयोग गरिन्छ । प्याड किन्दा महिनामा एक सय रुपैयाँभन्दा बढीको खर्च हुने पूजा रम्तेलले बताइन् ।
 
Source: Kantipur Daily, 2076-09-27

Go to top