यस्तो छ संसारकै टप-५ मा परेको स्वयम्भूको सार्वजनिक शौचालय

मंगलबार, मंसिर ७, २०७८ : काठमाडौंको सार्वजनिक शौचालय संसारकै उत्कृष्टमध्ये परेको छ भन्दा तपाईंलाई अचम्म लाग्ला। तर स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि हेर्नुभयो भने यो शौचालय देख्नुहुनेछ। नेदरल्यान्ड्सले आयोजना गरेको 'सरफाती सेनिटेसन च्यालेन्ज' मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय टप-५ मा पर्न सफल भएको हो। सन् २०२२ सेप्टेम्बरमा उत्कृष्ट पाँचमा परेका शौचालयमध्येबाट एउटा विजेता घोषित हुनेछ। पहिलो हुनेले एक लाख युरो पुरस्कार पाउनेछ।

सफा, सहज र स्मार्ट यो सार्वजनिक शौचालयको नाम पनि छ- एरोसान।

एकतले भवनमा बनेको यसमा पूर्वाधार, व्यवस्थापन र वातावरणमैत्री गरेर मुख्य तीन कुरामा ध्यान दिइएको प्रकाश अमात्यले जानकारी दिए। अमात्य 'गुथि' नामक गैरनाफामूलक संस्थामा कार्यरत छन्। स्वयम्भूमा दुई वर्षअघि यो शौचालय बनाउन उनी र गुथिकै हात छ। 

अमात्यका अनुसार नगरपालिकाले उनीहरूलाई जग्गा उपलब्ध गराइदियो। शौचालय बनाउन क्यानडाको सहयोग छ। करिब ६० लाख रूपैयाँ लागतमा यो तयार भएको हो। यहाँ मान्छे छिर्नेबित्तिकै बत्ती बल्छ, बाहिर निस्किँदा आफैं निभ्छ। सेन्सर लाइटहरू प्रयोग भएका छन्। दायाँतिर पुरुषका लागि दुइटा र बायाँतिर महिलाका लागि दुइटा शौचालय छन्। सँगै पर्यटक, अशक्त र पाका मान्छेलाई सजिलो हुने शौचालय पनि छ।

महिला शौचालय छेउको भित्तामा स्यानिटरी प्याड राखिएको भेन्डिङ मेसिन छ। दुई रूपैयाँका तीन वटा सिक्का खसाएपछि, अर्थात् छ रूपैयाँमा एउटा प्याड पाइन्छ। बाहिर किनिने प्याडभन्दा सस्तै पर्छ। प्रयोग भएका प्याड फाल्ने डस्टबिन र ती प्याडलाई बिजुलीबाट जलाउने मेसिन पनि त्यहीँमुनि राखिएको छ। 

अब सिक्का नभए कहाँबाट ल्याउने?

त्यसको समाधान शौचालयका बीचमै रहेको पसल हो। यहाँ सिक्का मात्र होइन खानेकुरासमेत किन्न र खान पाइन्छ।

शौचालयकै बीचमा खाने पसल?

सुन्दै अप्ठ्यारो लाग्न सक्छ। तर यसका थप विशेषताबारे थाहा पाएपछि अप्ठ्यारो आफैं भाग्छ। अमात्यका अनुसार यो शौचालय यस्तो डिजाइनमा बनेको छ जहाँ दुईतिरबाट हावा सहजै बहेर बाहिर निस्किने खालको 'क्रस-भेन्टिलेसन' छ। शौचालयको गन्ध त्यहीँबाट बाहिर जान्छ। हात धोएको र सरसफाइको पानी पाइपबाट तल पठाइन्छ। चार-पाँच पटक फरकफरक ठाउँमा प्रशोधन गरेपछि त्यो पानी राम्रो भएर माथि पुग्छ। त्यहाँ पनि ढुंगा, गिटी, बालुवा लगायत प्रक्रियामा फिल्टर गराएर बल्ल ट्यांकीमा पठाइन्छ। त्यो पानी पुनः चर्पीमा हाल्न, सरसफाइ गर्न र बारीमा प्रयोग हुन्छ। यहाँ प्रयोग हुने अरू पानी स्रोत भने बर्खा हो। आकाशे पानी संकलन गर्न शौचालयको छानामा ६ सय वर्गफिटको छाना छ। त्यहाँबाट बग्दै आएको पानी १५ हजार लिटरको ट्यांकीमा जम्मा हुन्छ। यसबाटै ८० प्रतिशत पानीको समस्या समाधान हुन्छ। बाँकी २० प्रतिशत बाहिरी स्रोतबाट ल्याउन पर्छ।

शौचालयको दिसा-पिसाब 'बायो डाइजेस्टर' मा आउँछ। यसबाट बायोग्यास उत्पादन हुन्छ। त्यही ग्यासबाट महिनाको दुई सिलिन्डर ग्यास उत्पादन भइरहेको छ। त्यसबाट यहाँको खाजा पसलमा चिया, पकौडा, तरकारी लगायत परिकार पाक्छन्। चाउचाउ, बिस्कुट, पानी, जुस लगायत अन्य खानेकुरा किन्न पाइन्छ। बाहिरभन्दा सस्तोमा महिनावारी प्याड र दस रूपैयाँका दुइटा मास्क यहाँ बेचिन्छ। शौचालयको नियम हो, मास्क लगाउनैपर्ने। 

व्यवस्थापनको कुरा गर्दा यो शौचालय महिलाद्वारा सञ्चालित छ। सरसफाइ अनुभव भएका महिलाले यहाँको रेखदेख र सफाइ काम सम्हाल्छन्। बिहान ६ बजेदेखि बेलुकी ८–९ बजेसम्म खुल्ने भएकाले दुई सिफ्टमा काम हुन्छ। स्वयम्भूकै 'स्वाभिमानी सरसफाइ समूह' ले उनीहरूलाई परिचालन गरेको हो। पसलमा उठेको पैसा त्यही समूहलाई जान्छ।

यहाँ काम गर्ने तीन कर्मचारीलाई दिइएको सुरूआती तलब सरकारले तोकेको न्यूनतम १५ हजार रूपैयाँ हो। त्यसमा बीमा, भत्ता लगायत अन्य सुविधा थप भएको अमात्यले जानकारी दिए। कर्मचारीको छुट्टै पोशाक पनि छ। यहाँ शौचालय गएको पैसा तिर्नु पर्दैन। त्यसको बदलामा तपाईंलाई बायोग्यासबाट पाक्ने १५ रूपैयाँ पर्ने कालो चिया खान आग्रह गरिन्छ। यो शौचालयको उद्देश्य यहाँ आएर मानिसहरूले केही समय बिताऊन् भन्ने पनि रहेछ।

Source: Setopati

Go to top