मानव स्वास्थ्यमा खेलबाड, सार्वजनिक शौचालय निर्माणमा स्थानीय तहको छैन चासो

काठमाडौं, मंसिर ३ : गत बुधबार जोरपाटीबाट सुन्दरीजल यातायात चढेर पसलका लागि सामान किन्न असन आएकी थिइन्, ३४ वर्षीय सुनिता सापकोटा। गोकर्णेश्वर नगरपालिकाकी स्थायी बासिन्दा उनले पाँच वर्षयता जोरपाटीमा कस्मेटिक पसल चलाउँछिन्। असनका होलसेलबाट सामान लगेर बिक्री गर्नु उनको दिनचर्या हो। हरेकपटक असनमा सामान किनेपछि हतारमा जमल निस्किन हतारिन्छिन् उनी। किनकि, असन क्षेत्रमा शौचालयको अभाव छ।

‘असनमा आउँदा धेरै लामो समय बस्न मन लाग्दैन, किनकि शौचालयको अभाव छ,’ उनले हाँस्दै भनिन्, ‘विवाहित महिलाले लामो शौचालय नगई बस्न सक्दैनन्। पिसाब लागेपछि तल्लो पेट दुख्न थाल्छ, त्यसैले शौचालय खोज्दै हिँड्नुपर्छ।’ यस्तै, माछापोखरीबाट साथीहरूसँग वसन्तपुर घुम्न आएकी थिइन्, २१ वर्षीय रेश्मा नेपाली। उनीसँग पाँचजना साथीहरू थिए। उनीहरूले वसन्तपुर घुम्दै गर्दा चटपटे र पानीपुरी खाए। त्यसपछि सार्वजनिक शौचालय आवश्यक पर्‍यो। उनीहरू शौच गर्न कहाँ जाने भन्दै अल्मलिए। ‘खासै भोक लागेको छैन, कि होटल प्रवेश गर्ने ?’ रेश्माकी साथी विमलाले भनिन्, ‘खाजा खाने बहानाले होटेल प्रवेश गरौँ, धेरै लामो समय रोक्न सकिँदैन।’ उनीहरू शौच गर्न कहाँ जाने भन्ने निर्णय गर्न नसकेर वसन्तपुरमै अल्मलिइरहेका थिए।

यस्तो समस्या घरबाहिर सपिङ गर्न निस्किने, घुम्न जाने र यात्रा गर्नेले भोग्नैपर्छ। उपत्यकाजस्तो सधैँ भीडभाड हुने स्थानमा समेत सार्वजनिक शौचालयको अभाव छ। उपत्यकाको भीडभाड हुने गन्तव्यहरू वसन्तपुर, न्युरोड, असन, ठमेल, कोटेश्वर, चाबहिल, चक्रपथ, कंलकी, त्रिपुरेश्वर, जावालाखेल, बालाजु, माछापोखरी, बल्खु, कालिमाटी कहीँकतै शौचालयको भरपर्दो व्यवस्था छैन। महिला-पुरुष दुवैले लामो समय पिसाब रोकेर राख्न सक्दैनन्। महिलाले लामो समय पिसाब नफेर्दा तल्लो पेट दुख्न थाल्छ, जुन गम्भीर समस्या हो। यति ठूलो मानवीय समस्यामा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन। सामान्य खर्चमा तयार हुने सार्वजनिक शौचालय बनाउन बर्सेनि करोडौँ बजेट खर्च गर्ने स्थानीय तहहरूले ध्यान दिएका छैनन्।

घरबाट बाहिर निस्किनु पर्दा एकपटक शौचालय गएर मात्र निस्किनु सहरी क्षेत्रका बासिन्दाको बाध्यता हो। किनकि, व्यस्त सहरी इलाकामा सार्वजनिक शौचालयको सर्वथा अभाव छ। कतै-कतै भएका शौचालयमा पनि दुर्गन्धित, पानी नभएका, ढोका नलाग्ने समस्या देखिन्छ।

प्रत्येक वर्ष १९ नोभेम्बर (३ मंसिर) मा विश्व शौचालय दिवस मनाइन्छ। त्यही दिन मात्र सार्वजनिक शौचालयको अभाव भएको विषय जोडतोडले उठान हुन्छ। फेरि भोलिपल्टदेखि नै यस पाटोमा काम गर्न कसैको चासो देखिँदैन। काठमाडौं उपत्यकामा मात्रै ५० लाखभन्दा बढी जनसंख्याको बसोबास छ। तर, सार्वजनिक शौचालय नगण्य मात्रामा रहेको सफाइ अभियन्ता तथा ‘एरोसन सस्टेनेबल स्यानिटेसन कम्पनी’का सञ्चालक प्रकाश अमात्य बताउँछन्। ‘काठमाडौंमा धेरै सुविधा छन् तर सार्वजनिक शौचालयको कमी छ,’ अमात्य भन्छन्, ‘सार्वजनिक शौचालयको व्यवस्थापनमा स्थानीय तह, प्रदेश र संघीय सरकार कसैको ध्यान छैन।’

अमात्यले काठमाडौं महानगरपालिका वडा-१५ सँग सहकार्य गरेर ‘ट्वाइलेट पार्क’ बनाएका छन्। मंगलबजार, पाटनढोका, बानेश्वर, स्वयम्भु बुद्धपार्क, त्रिपुरेश्वर, विष्णुमति लिंकरोडमा ‘ट्वाइलेट पार्क’ बनाएको उनी बताउँछन्। ‘सबै स्थानमा गरी करिब ४० लाख रुपैयाँ खर्च गरेका छौँ,’ उनी भन्छन्। अमात्यका अनुसार स्थानीय तहले सार्वजनिक शौचालय निर्माण गरेर निःशुल्क सेवा उपलब्ध गराउन सक्छन्। तर, त्यसमा कुनै स्थानीय तहको चासो देखिँदैन। किनकि, शौचालयबाट करोडौँ रुपैयाँ आम्दानी हुँदैन।

भीडभाड हुने ठाउँका शौचालयबाट काठमाडौं महानगरपालिकाले वार्षिक लाखौं रुपैयाँ बहाल उठाउँछ। ‘टेन्डर प्रक्रियाबाट शौचालय सञ्चालन गर्न दिएर वार्षिक १७ देखि ६१ लाख रुपैयाँ उठाउँछ,’ अमात्य भन्छन्, ‘शौचालय ठेक्कामा लगाएर रकम लिने तर सुविधा विस्तार नगर्ने महानगरको प्रवृत्ति देखिन्छ।’स्थानीय तह, प्रदेश र संघीय सरकारले मानव अधिकार संरक्षण गर्न नसकेको उनको तर्क छ। भन्छन्, ‘सरसफाइ नागरिकको मौलिक अधिकार भनेर संविधानमा लेखिएको छ तर त्यो संविधानको पानामै सीमित छ।’

उपत्यकाका ५ पालिकामा २६२ मात्रै सार्वजनिक शौचालय

उपत्यकामा धेरै भीडभाड हुने काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, मध्यपुर थिमी नगरपालिकाभित्र जम्मा २ सय ६२ सार्वजनिक शौचालय छन्। गुथी र वाटर एडको सन् २०१८ को तथ्यांकअनुसार काठमाडौं महानगरपालिकामा १५१ वटा सार्वजनिक शौचालय छन्। जसमा सार्वजनिक शौचालय ३७, मन्दिरमा रहेको शौचालय २२, सरकारी कार्यालयमा ५, पार्क ७, पेट्रोल पम्प ५६, व्यावसायिक भवन १७, अस्पतालमा ९ वटा सार्वजनिक शौचालय छन्। ललितपुर महानगरपालिकामा ५४ सावजनिक शौचालय छन्। जसमा सार्वजनिक शौचालयमा ११, मन्दिरमा रहेको शौचालय ५, सरकारी कार्यालयमा ८, पार्कमा २, पेट्रोलपम्प १८, व्यावसायिक भवन ५, अस्पतालमा ७  रहेको तथ्यांक छ। यस्तै, कीर्तिपुरमा १८ स्थानमा सार्वजनिक शौचालय छन्। सार्वजनिक शौचालय १२, मन्दिरमा २, सरकारी कार्यालय २, पार्कमा १, पेट्रोलपम्प २,  व्यावसायिक भवन १, अस्पताल दुई सार्वजनिक शौचालय छन्। मध्यपुर थिमिमा भने १९ वटा सार्वजनिक शौचालय छन्। जसमा ६ वटा सार्वजनिक शौचालय, मन्दिरमा ५, पेट्रोलपम्प ८ वटा छन्। यस्तै, भक्तपुर नगरपालिकामा १३ वटा सार्वजनिक शौचालय रहेको तथ्यांक छ। जसमा धेरैजसो पर्यटकीय स्थलमा भएको भक्तपुर नगरपालिकाको भनाइ छ।

६२ वटा सार्वजनिक शौचालय थप्ने योजनामा महानगर

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७८-७९ मा ६२ वटा सार्वजनिक शौचालय थप्ने योजना रहेको महानगरको भनाइ छ। ‘काठमाडौं महानगरपालिकाको प्रत्येक वडामा २ वटा सार्वजनिक शौचालय थप्ने लक्ष्य हो,’ प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘चालु आर्थिक वर्षमा नीति बनाएका हौँ, छिट्टै कार्यान्वयन गर्छौँ।’ काठमाडौं महानगरको जनसंख्याअनुसार सार्वजनिक शौचालय अपुग भएको प्रवक्ता डंगोल स्वीकार्छन्। ‘सार्वजनिक शौचालयमा व्यवसायीले लगानी गर्न रुचाउँदैनन्,’ उनी भन्छन्, ‘यस वर्षदेखि सार्वजनिक शौचालय सञ्चालन गर्न इच्छुक हुने व्यवसायीलाई ५० प्रतिशत सहुलियत दिने व्यवस्था गरेका छौँ।’ भीडभाड हुने स्थानबाहेक अन्य ठाउँमा शौचालयबाट आम्दानी नहुँदा सञ्चालनललल गर्न नसकिएको महानगरको भनाइ छ।

पर्यटकीय स्थलमा शौचालय बनाउँछौँ : भक्तपुर नगरपालिका

पर्यटकीय नगर हो, भक्तपुर। त्यसैले भक्तपुरमा रहेका १३ वटा सार्वजनिक शौचालय अपुग छन्। स्वदेशी-विदेशी पर्यटक पुग्ने भक्तपुरमा अझ बढी शौचालयको आवश्यकता छ। भक्तपुर नगरपालिकाको स्यानिटेसन शाखा इन्चार्ज दिलिप सुवाल यो पर्यटक क्षेत्र भएकाले शौचालय थप गर्ने योजना रहेको दाबी गर्छन्। ‘योजना बन्दैछ तर कसरी, कहाँ थप्ने भन्ने निश्चित भइसकेको छैन,’ उनी भन्छन्।

Source: Kathmandu Press, 19 Nov. 2021

Go to top